काठमाडौं- नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति स्वागतयोग्य भएको बताए। मौद्रिक नीति गत वर्षकै निरन्तरता जस्तो देखिएको र केही नयाँ व्यवस्थासमेत गरेको पाइएको उनले बताए।
'समग्रमा मौद्रिक नीति उद्योग/व्यवसायमैत्री छ। अब यसलाई कार्यान्वयनमा जोड दिनुपर्छ,' उनले भने। गत वर्षको मौद्रिक नीति राम्रो आए पनि कार्यान्यन फितलो बनेको उनले बताए।
'गत वर्षको मौद्रिक नीतिमा दिइएको सुविधा साना तथा मझौला उद्ममी (एसमएमई), महिला उद्यमी तथा कृषि क्षेत्रसम्म पुग्न सकेन। ठूला उद्योगीहरुले मात्र सुविधा लिन पाए। यस वर्ष तल्लो तहसम्म यी सुविधा पुर्याउन राष्ट्र बैंकले नियमनमा कडाइ गर्नुपर्छ,' अध्यक्ष मल्लले भने।
मुलुकमा रहेका ८०-८२ प्रतिशत साना तथा मझौला उद्ममीको उत्थानबिना मुलुकको आर्थिक विकास सम्भव नहुने उनको भनाइ छ। यस पटकको मौद्रिक नीतिमा लगानीलाई प्रोत्साहन गर्न बैंकहरुलाई निर्देश गरिएको र सेवा शुल्कसमेत घटाइएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने उनले बताए।
'तीनदेखि पाँच प्रतिशत ब्याजदरमा रुग्ण तथा कोभिड प्रभावित उद्योगहरुलाई कर्जा उपलब्ध गराउने व्यवस्थालाई निरन्तरता दिइएको छ। रेमिट्यान्स बैंकिङ च्यानलबाट पठाउँदा थप एक प्रतिशत ब्याज दिने व्यवस्थाले हुण्डी तथा अवैध मार्गबाट रकम भित्र्याउने कार्यलाई निरुत्साहित गर्न सहयोग पुग्ने देखिन्छ,' अध्यक्ष मल्लले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।