बाढीले बगाएकाे चनाैटे पुल
काठमाडौं– मेलम्ची खोलामा आएको बाढीले पुल बगाएको चनौटे बजारलगायतको क्षेत्रमा पुल राख्नका लागि अध्ययन टोली खटिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनअनुसार नयाँ पुलको निर्माणका लागि टोली अध्ययनमा जान लागेको हो।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री देउवाले मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरी पुल राख्न निर्देशन दिएका थिए।
मेलम्ची खोलाको बाढीले पुल बगाएको स्थानमा बेलिब्रिज वा यान्त्रिक पुल राख्नेसम्बन्धी अध्ययन गर्न प्राविधिक टोली शुक्रबार सो क्षेत्रतर्फ जान लागेको प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए।
टोलीले मेलम्ची क्षेत्रमा बेलिब्रिज वा यान्त्रिक पुल राख्न सकिने अवस्थाबारे अध्ययन गर्ने उनले बताए। विभिन्न उपकरणसहितको प्राविधिक टोली सुरुमा हेलम्बु गाउँपालिका अन्तर्गतको चनौटो बजार जान लागेको उनको भनाइ छ।्
सो टोलीमा नेपाली सेना, सडक विभाग, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका प्राविधिक रहेका छन्।
टोलीले मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाका प्रमुखसँग समन्वय गरेर पुल राख्ने ठाउँको पहिचान तथा प्रारम्भिक सर्वेक्षण गर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।