काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ।
मौद्रिक नीति पास गर्न अहिले राष्ट्र बैंक सञ्चालक समितिको बैठक बसिरहेको एक सञ्चालकले जानकारी दिए। सञ्चालक समितिबाट पास भएपछि आजै अपराह्न ४ बजे गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने उनले बताए।
मौद्रिक नीति राष्ट्र बैंकको सञ्चालक समितिबाट पास गर्नुपर्ने व्यवस्था छ। गभर्नर अधिकारी अध्यक्ष रहेको सञ्चालक समितिमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रलगायत सदस्य छन्।
गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो। यस वर्ष सरकार परिवर्तन भएका कारण मौद्रिक नीति ल्याउन ढिलाइ भएको हो। पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट प्रतिस्थापन गर्ने तयारीमा अर्थ मन्त्रालय लागेका कारण मौद्रिक नीतिमा ढिलाइ भएको बताइएको छ।
तर, मौद्रिक नीति ढिलाइ गरिँदा समग्र वित्तीय तथा आर्थिक क्षेत्र प्रभावित हुने भन्दै अर्थविद्हरुले आलोचना गरिरहेका छन्। उनीहरुले राष्ट्र बैंकको स्यायत्ततामाथिसमेत प्रश्न उठेको बताइरहेका छन्। सार्वजनिक रुपमा आलोचना बढ्न थालेपछि मौद्रिक नीति तत्काल सार्वजनिक गर्न राष्ट्र बैंकलाई दबाब परेको थियो।
अर्थमन्त्री जनार्दन शर्माले 'ग्रिन सिग्नल' दिएपछि राष्ट्र बैंकले आजै मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंक स्रोतले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।