काठमाडौं- पूर्ववर्ती केपी शर्मा ओली सरकारले अध्यादेशमार्फत् ल्याएको बजेटमा वृद्धि गरिएको निजामती कर्मचारीको तलब साउन १ गतेबाट कार्यान्वयनमा आएको छ।
साउन २५ को मन्त्रिपरिषद् बैठकले वृद्धि गरिएको तलबमान साउन १ गतेबाट लागू गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालय सोहीअनुसार कार्यान्वयन गर्न बुधबार सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरुलाई परिपत्र गरेको छ।
परिपत्रमा सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि यही साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान कायम गरेको उल्लेख छ।
वृद्धि भएको तलबमानअनुसार सरकारका मुख्यसचिवको सुरु तलब स्केल ६७ हजार १४० रुपैयाँ हुनेछ। ग्रेडसहित उनले कूल ७१ हजार ६१६ रुपैयाँ मासिक तलब बुझ्नेछन्।
राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीको तलब ग्रेडसहित ५२ हजार ६०० रुपैयाँ कायम गरिएको छ। यस्तै राजपत्रांकित प्रथम श्रेणी, द्धितीय र तृतीय श्रेणीका कर्मचारीको सुरु तलब क्रमश: ४९ हजार ३८०, ४२ हजार ३८० र ३७ हजार ९९० रुपैयाँ कायम गरिएको छ। निजामती कर्मचारीतर्फ सबैभन्दा कम प्रथमस्तरका कार्यालय सहयोगीको तलब २२ हजार ९१२ रुपैयाँ (ग्रेडसहित) कायम गरिएको छ।
नेपाली सेनाका प्रधानसेनापतिले सुरु तलब ६७ हजार १४० र ग्रेडसहित ७१ हजार ६१६ रुपैयाँ पाउने भएका छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकको तलब ग्रेडसहित समान ६६ हजार ८६० रुपैयाँ पुर्याइएको छ।
स्वास्थ्य सेवातर्फ १२औं तहको अधिकृतले ग्रेडसहित ६६ हजार ८६० रुपैयाँ पाउने भएको छ। उक्त पदको सुरु तलब ६२ हजार ६८० रुपैयाँ कायम गरिएको छ।
संसद् सेवातर्फ राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीको ग्रेडसहितको तलब ६६ हजार ८६० रुपैयाँ कायम गरिएको छ। प्रथम, द्धितीय र तृतीय श्रेणीका कर्मचारीको तलब ग्रेडसहित क्रमश: ६० हजार ९०२, ५३ हजार ६८४ र ४८ हजार १२६ रुपैयाँ कायम गरिएको छ।
सामुदायिक विद्यालयको माध्यमिक तहका प्रथम श्रेणीका शिक्षकको नयाँ तलब ग्रेडसहित ५९ हजार २५६ रुपैयाँ पुगेको छ। द्धितीय र तृतीय श्रेणीका शिक्षकको तलब क्रमश: ५३ हजार ६८४ र ४८ हजार १२६ कायम गरिएको छ।
प्रदेश तथा स्थानीय तहतर्फ ११औं तहका अधिकृतको तलब ग्रेडसहित ६१ हजार ३७० रुपैयाँ कायम गरिएको अर्थ मन्त्रालयको परिपत्रमा उल्लेख छ।
हेर्नुहोस् कसको तलब कतिले बढ्यो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।