काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने कार्ययोजना पेस गर्न निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजस्व विभागको ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले राजस्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई दोब्बर बनाउने गरी नयाँ कार्ययोजना पेस गर्न भनेका हुन्।
'चलिराछ, यस्तै चल्छ भन्ने कुरा मेरो लागि मान्य छैन। एक पटक राम्रोसँग सोच्नुहोस् राजस्व संकलन बढाउन सकिने उपायहरु तपाईं आफैं फेला पार्नुहुनेछ,' उनले भने, 'त्यसको लागि तपाईंलाई के चाहिन्छ, जनशक्ति, प्रविधि, तालिम जे आवश्यक पर्छ त्यो उपलब्ध गराइन्छ। तर, राजस्व दोब्बर बनाउने लक्षका साथ काम गर्नैपर्दछ।'
उनले करदातालाई कानुन लगाएर कर तिराउने नभइ करदाता आफैंले कर तिरुँ-तिरुँ लाग्ने संस्कृति विकास गर्ने खालको योजना बनाउन मातहतका निकायलाई निर्देशन दिए। 'करदाता आफैं उत्साहित भएर कर तिर्ने हुनुपर्दछ। त्यस्तो वातावरण निर्माण गर्न मन्त्रालयको तर्फबाट के-के गरिदिनुपर्ने हो त्यसको प्रस्ताव पनि तयार गर्नुहोस्,' मन्त्री शर्माले भने, 'हामी निरन्तरताको सुधारमा रमाएर बस्ने होइन कि गुणात्मक सुधारको खाँचो छ।'
उनले समग्र राष्ट्रको सम्पत्ति लेखाजोखा गर्नुपर्ने आवश्यकतासमेत औंल्याए। 'कति हो त हाम्रो देशको सम्पूर्ण मूल्याङ्कन? यसको हिसाब किताब खोइ? जनतासँग भएको सम्पत्ति के कति हो? सरकारको स्वामित्वमा भएको सम्पत्ति के कति हो? यसको हिसाब किताब गर्ने योजना पनि चाहियो,' उनले भने।
कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले राजस्व देशकै प्राणरेखा भएको भन्दै राजस्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने संभावना रहेको बताए। राजस्व समूहका कर्मचारीले १०-५ को ड्यूटी गरेर नपुग्ने भएकोले सोहीअनुसार थप जाँगर चलाएर काममा खटिन उनले निर्देशन दिए।
आन्तरिक राजस्व विभागअन्तर्गतका ८४ वटा कार्यालयहरु सबैले राजस्व संकलनमा देखिएका समस्याहरुको एमआरआई गर्नुपर्नेमा जोड दिँदै सचिव मरासिनीले समाधानका उपायहरु समेत निकाल्न आग्रह गरे। प्रविधिको माध्यमबाट सबै राजस्व कार्यालयहरुलाई यथाशक्य कागजरहित, अनुहाररहित र भौतिक सम्पर्करहित बनाउन निर्देशन दिए। २०५४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जीडीपीको नौ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क उल्लेख गर्दै उनले यसलाई व्यवस्थित गर्न बिलिङ सिस्टममा एकीकृत गर्न आग्रह गरे। देशका विभिन्न ठाँउमा रहेका ८४ वटा राजस्व कार्यालयमध्ये ३० वटाले मात्र तोकिएको लक्ष्य पूरा गरेको जानकारी दिँदै उनले सबै कार्यालयहरुले लक्ष्यअनुसारको काम गर्न निर्देशन दिए।
विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए। गत वर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व सात प्रतिशत र अन्यबाट दुई प्रतिशत राजस्व संकलन भएको थियो। आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजस्व विभागलाई ४५० अर्बको लक्ष्य तोकिएकोमा चार खर्ब २९ अर्ब रुपैयाँ संकलन भएको छ। चालु आर्थिक वर्षको लागि पाँ खर्ब २२ अर्ब राजस्व संकलनको लक्ष्य तोकिएको छ।
यस्तै गत असारसम्म ४० लाख ६६ हजार १३१ ले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भनेदुई लाख ९० हजार ७१४ करदाता मूल्य अभिवृद्धि कर (भ्याट) मा आबद्ध छन्। व्यवसायीहरु करको दायरामा औपचारिक रुपले आबद्ध रहेको भएता पनि वार्षिक विवरण नबुझाउनेको संख्यामा वर्षेनी वृद्धि भइरहेको महानिर्देशक आचार्यले बताए। कर कार्यालयमा दर्ता भई वार्षिक विवरण नबुझाउनेहरु आर्थिक वर्ष २०७४/७५ मा ३३.१८ प्रतिशत र आर्थिक वर्ष २०७५/७६ मा ३७.५३ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा सो संख्या बढेर ४२.९२ प्रतिशत पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।