फाइल तस्वीर
काठमाडौं– वैकल्पिक विधि अपनाएर कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने सरोकारवालाले बताएका छन्।
परीक्षा दुई–दुई पटक स्थगित गरिएको र अझै पनि भौतिक रूपमा परीक्षा हुन कठिनाइ हुनसक्ने भएकाले विकल्प दिएर परीक्षा सञ्चालन गर्नु उपयुक्त हुने उनीहरको सुझाव छ।
कुनै सुरक्षित माध्यमबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्नुपर्ने नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले बताए। लामो समय परीक्षाबारे अन्योल हुनुभन्दा कुनै विधिबाट परीक्षा सञ्चालन गरी निकास दिनुपर्ने उनको भनाइ छ।
विद्यालयमा कक्षा ११ को परीक्षा सञ्चालन हुने, विश्वविद्यालयको उच्च शिक्षाका परीक्षा पनि नियमित हुँदा कक्षा १२ को मात्र परीक्षा स्थगित गर्नु उचित नहुने उनले बताए।
उच्च शिक्षा अध्ययन गर्नुपर्ने विद्यार्थीलाई रोक्न नहुने भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघका अध्यक्ष कृष्ण थापाले वैकल्पिक विधिका माध्यमबाट कक्षा १२ को परीक्षा अघि बढाउनुपर्ने बताए।
सम्भव भएका जिल्लामा भौतिक रूपमै परीक्षा सञ्चालन गर्नुपर्ने बताउँदै उनले प्रविधिको माध्यमबाट परीक्षा लिन सकिनेमा जोड दिए।
परीक्षा लामो समय अझै नहुने अवस्था देखिएमा वैकल्पिक विधिबाट अघि बढ्नुपर्ने सुझाव दिँदै उनले माध्यमिक शिक्षा परीक्षा (एसईई)को जस्तो भने गर्न नहुनेमा जोड दिए।
राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षा सञ्चालनका लागि वैकल्पिक विधिको बहस प्रारम्भ नगरिने र केही साता प्रतीक्षा गरिने जनाएको छ।
बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले परीक्षाका लागि केही साता कुर्नुपर्ने अवस्था रहेको बताए।
भदौ मध्यपछि कोरोना भाइरस संक्रमण घट्ने आकलन रहेको भन्दै त्यसपछि परीक्षा सञ्चालन गर्ने वातावरण बन्ने विश्वास उनले व्यक्त गरे।
कक्षा १२ को परीक्षालाई विश्वविद्यालय र कक्षा ११ को परीक्षासँग तुलना नगर्नसमेत अध्यक्ष पौडेलले आग्रह गरेका छन्।
त्रिभुवन विश्वविद्यालयले भदौ ५ गतेसम्म परीक्षा सञ्चालन गर्ने र त्यसपछि सीसीएमसीसितको समन्वयमा निर्णय गर्ने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।