काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायपालिकामाथि दोष दिने काम नगर्न आग्रह गरेका छन्। उनले न्यायपालिकाले गर्ने फैसला समाज र नागरिकसँग अभिप्रेरित हुने भएकाले त्यसलाई दोष दिने काम गर्न नहुने तर्क गरे।
नेपाल कानुन व्यवसायी परिषद्ले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले न्यायपालिकाले जहिले पनि समाजलाई हेरेर फैसला गरिरहने हुनाले यसलाई दोष दिने ठाउँ नरहेको बताए।
‘न्यायपालिकाले गर्ने सबै फैसलाहरु समाज र नागरिकसँग अभिप्रेरित हुन्छ। र, समाजलाई हेरेर नै जहिले पनि न्यायपालिकाले फैसला गरिरहेको हुन्छ। न्यायपालिकालाई निरन्तर अघि बढिरहन दिनुपर्दछ,' प्रधानन्यायाधीश राणाले भने, 'न्यायपालिकालाई दोष पनि दिनुहुन्न। यो आफैं महत्त्वपूर्ण निकाय हो। यसले नागरिकलाई जहिले पनि मागनिर्देशन गर्दछ। नागरिकभित्र देशका सबै नागरिक राष्ट्रपतिदेखि सबै पर्दछन्। देशका सबै निकायहरु यसै अन्तर्गत पर्दछन्।’ प्रधानन्यायाधीश राणाले आफूले कहिल्यै पनि दबाब र प्रभावमा परेर फैसला गर्ने नगरेको दाबीसमेत गरे।
कार्यक्रममा बोल्दै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानको रक्षाका निम्ति सर्वोच्च अदालतले पछिल्लो समयमा खेलेको भूमिका विश्वकै लागि उदाहरणीय भएको बताए। उनले कानुनी राज्यको स्थापना गरी मुलुकलाई समृद्ध बनाउने अभियानमा सबैलाई लाग्न पनि आह्वान गरे।
मन्त्री कार्कीले मुलुकको समृद्धि र विकास सबैको चाहना भएको उल्लेख गर्दै त्यसमा हरेक क्षेत्रको योगदानको आवश्यकतामा पनि जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।