काठमाडौं- सर्वोच्च अदालतले महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर भत्काउनु पर्नुको कारण पेश गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलगायतका निकायका नाममा आदेश जारी गरेको छ।
पुरातात्त्विक महत्वको घर भत्काएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको इजलासले प्रज्ञा प्रतिष्ठानलगायतका विपक्षीसँग १५ दिनभित्र लिखित रुपमा महान्यायाधीवक्ता कार्यालयमार्फत् कारण पेश गर्न आदेश दिएको हो।
घर भत्काउन रोक्न अन्तरिम आदेश माग गरेपनि सर्वोच्चले भने उक्त आदेश जारी गरेन। पुरातात्त्विक महत्वको घर भत्काउनु गलत भएको भन्दै त्यसले महाकविसँग जोडिएको धरोहर नाश हुने भएकाले संरक्षण गर्न आदेश हुनुपर्ने माग रिटमा गरिएको थियो।
प्रज्ञा प्रतिष्ठानले मैतीदेवीस्थित देवकोटाको घर भत्काएर अर्को घर बनाउने तयारी गरेको छ। तर, देवकोटाको घर नभत्काइ ‘रेट्रोफिटिङ’ गर्नुपर्ने साहित्यकार र संरक्षणविद्हरुले भन्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।