काठमाडौं– नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा कुलमान घिसिङले पदबहाली गर्दै छन्।
बुधबार नियुक्ति पत्र बुझेका घिसिङले आजै पदबहाली गर्दै छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। घिसिङ झण्डै ११ महिनापछि विद्युत प्राधिकरणमा फर्किएका हुन्।
घिसिङ फर्कने भएसँगै नेपाल विद्युत प्राधिकरणमा उनको स्वागतका लागि तयारी गरिएको छ।
प्रवेशद्वार अगाडी घडा राखिएको छ भने भित्र तामाको खड्कुँलो फूलसहित सजाइएको छ। नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङज्यूमा हार्दिक स्वागत, बधाई तथा शुभकामना लेखिएको डिजिटल बोर्ड राखिएको छ। घिसिङले यसअघि चार वर्ष प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरेका थिए। दैनिक १८ घण्टासम्म हुने विद्युत् कटौती (लोडसेडिङ) अन्त्य गरेका उनले प्राधिकरणको व्यवस्थापनमा पनि उल्लेख्य सुधार गरेका थिए।
घिसिङको कार्यकाल २८ भदौ २०७७ मा सकिएको थियो। त्यतिबेला पनि घिसिङलाई नै प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गरिनुपर्ने आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा रुचि देखाएका थिएनन्।
घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।