बाढीले बगाएकाे चनाैटैकाे राताेपुल
काठमाडौं– मेलम्ची खोलामा आएको बाढीले बगाएका पुलको ठाउँमा स्थानीय सरकारसँग समन्वय गरी तत्काल बेलिब्रिज वा यान्त्रिक पुल राख्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
सिंहदरबारमा मंगलबार सम्पन्न राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले बाढीले पुल बगाउँदा स्थानीयलाई आवतजावत गर्न समस्या भएकाले तत्काल पुल स्थापनाको प्रक्रिया सुरु गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री देउवाले अन्य मुलुकको अनुभवसमेत लिएर मेलम्ची खोला र सो क्षेत्रमा लेदो बग्नुको कारणबारे अध्ययन गर्नसमेत प्राधिकरणलाई निर्देशन दिएका छन्। असार १ गते गएको बाढीपहिरोले मेलम्ची क्षेत्रमा पाँचवटा पुल बगाउनुका साथै मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुर्याएको थियो ।
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार बैठकमा प्रधानमन्त्रीले जहाँजहाँ पुल बगेको छ त्यहीँको स्थानीय सरकारसँग समन्वय गरेर पुलहरू बगाएको ठाउँमा बेलिब्रिज वा यान्त्रिक पुल राख्न निर्देशन दिनुभएको हो ।
पुलको खरिद तथा जडानका लागि नेपाली सेनालाई आवश्यक पर्ने बजेट उपलब्ध गराउन पनि प्रधानमन्त्रीले प्राधिकरणलाई निर्देशन दिएका छन् ।
पुल जडानको जिम्मेवारी पाएका नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौड्यालले प्रधानमन्त्रीबाट भएको निर्देशनबमोजिम सेनालाई प्राप्त हुने पत्रको आधारमा चाँडै पुल खरिद प्रक्रिया अगाडि बढाइने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।