फाइल तस्वीर
काठमाडौं– ध्वनि प्रदूषण कम गर्ने उद्देश्यले उपत्यकामा सञ्चालन गरिएको ‘नो हर्न’ अभियानलाई थप प्रभावकारी बनाइने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नो हर्न’ अभियान प्रभावकारी बनाउन मंगलबारदेखि स्टिकर टाँस्न थालेको छ।
उपत्यकामा २०७४ वैशाख १ गतेदेखि हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो। त्यसपछि हर्नको प्रयोगमा कमी आउनुको साथै सुरुआती दिनमा यसको कार्यान्वयन प्रभावकारी भएको थियो।
पछिल्ला दिनमा क्रमशः हर्नको प्रयोगमा वृद्धि हुँदै गएकाले पुनः अभियान सुरु गरेको प्रहरीले जनाएको छ।
महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले उक्त अभियानलाई प्रभावकारी बनाउन उपत्यकाको ३८ ट्राफिक कार्यालयले एकैसाथ ५० हजार नो हर्न स्टीकर टाँस गरी अभियान सुरु गरेको बताए।
केही समययता अनावश्यक हर्नको प्रयोगमा क्रमश वृद्धि भइरहेको बताउँदै उनले नियन्त्रणका लागि थप कडाइ गर्न थालिएको जानकारी दिए। आवश्यक नपरी हर्नको प्रयोग नगर्न पनि उनले अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।