काठमाडौं– आगामी बिहीबारदेखि पुनः मनसुन सक्रिय हुने भएको छ। बिहीबारदेखि मनसुनको न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने भएकाले देशभर मनसुन सक्रिय भई केही दिन देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको भनाइ छ।
बिहीबार प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ।
त्यसैगरी, शुक्रबार, शनिबार प्रदेश नं १, २, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत विभागले अनुरोध गरेको छ।
हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली भई प्रदेश नं १, २, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशको एक– दुई स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।