काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ।
विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो। गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो।
नाम सार्वजनिक भएपछि आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन्। कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ।
सूचना प्रकाशन गरिएकामध्ये केही अझै सम्पर्कमा नआएका छैनन्। ‘सार्वजनिक सूचना जारी गरिएको छ,’ कामपा राजस्व विभाग प्रमुख डा शिवराज अघिकारीले भने, ‘लिखित/मौखिक सूचनामार्फत पनि जानकारी दिइएको छ। तोकिएको समय सकिने बेला कार्यस्थलमा गएर ‘माइकिङ’ गरिएको छ।’
सम्पर्कमा आएकामध्ये चार व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा हालसम्म रु एक करोड ५३ लाख राजस्व बुझाएका छन्। यसरी दाखिला गर्नेमा सबैभन्दा बढी युनाइटेड विल्डर्स एण्ड इञ्जिनियरिङ (वल्र्ड टे«ड सेन्टर)को एक करोड रुपैयाँ छ। यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले अगामी १२ दिनभित्र सम्पत्तिको मूल्यांकन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजस्व विभागमा निवेदन समेत दिएका छन्।
यसैगरी कामपा– १४ मा अवस्थित नेशनल हस्पिटलले २४ लाख र सोही वडाको सहिद मेमोरियल हस्पिटलले १९ लाख २० हजार रुपैयाँ दाखिला गरेका छन्।
नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख बुझाएर गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ। धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन्।
विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउनुपर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन नमानेको बताइएको छ। विगत २८ वर्षदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले ७० करोड असुल गर्ने लक्ष्य लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।