काठमाडौं- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगतबहादुर बरामले शुभकामनाको लागि मात्रै शुभकामना नदिन सरकारलाई आग्रह गरेका छन्।
सोमबार विश्व आदिवासी दिवसको अवसरमा भएको कार्यक्रममा अध्यक्ष बरामले माघी पर्व, उधौली, उभौली र आदिवासी दिवसमा सरकारले शुभकामना मात्र दिएर औपचारिकता पूरा गरेको बताए। उनले शुभकामना दिँदैमा, प्रतिबद्धता व्यक्त गर्दैमा र कागजीरुपमा केही लेख्दैमा मात्र आदिवासीहरु अधिकार सम्पन्न नहुने धारणा व्यक्त गरे।
जबसम्म व्यावहारिक रुपमा आदिवासीहरुलाई अधिकार सम्पन्न बनाइँदैन तबसम्म यस्ता शुभकामना वर्षैपिच्छे आइरहने भन्दै अध्यक्ष बरामले आदिवासीलाई अधिकार सम्पन्न बनाउने कार्यक्रम कार्यान्वयनमा लैजान आग्रह गरे।
'हामीले हरेक वर्ष आदिवासी दिवस मनाउँछौँ, सरकारले पनि आदिवासी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दछ, या प्रतिबद्धता जनाउँछ, या उधौली, उभौली या माघी या ल्होछार पर्वमा शुभकामनाहरु दिन्छ। तर, यो शुभकामनाको लागि मात्रै शुभकामना दिने प्रचलन नेपालमा चलिराखेको छ। शुभकामना दिँदैमा, प्रतिबद्धता व्यक्त गर्दैमा अथवा कागजी रुपमा केही लेख्दैमा मात्र आदिवासीहरु अधिकार सम्पन्न हुँदैनन्,' उनले भने, 'त्यसकारण हामीले जोडदार रुपमा भनिरहेका छौँ कि जबसम्म व्यावहारिक रुपमा आदिवासीहरुलाई अधिकार सम्पन्न बनाउँदैनन्, तबसम्म यी प्रतिबद्धताहरु, यस्ता खाले शुभकामनाहरु वर्षैपिच्छे आइरहन्छन्, वर्षैपिच्छे गइरहन्छन्, सरकारलाई हाम्रो आग्रह के हो भने, शुभकामना र प्रतिबद्धता मात्रै होइन, व्यावहारिक रुपमै कार्यक्रम ल्याएर उनीहरुको माग सम्बोधन गर्न र अधिकार सम्पन्न गराउनको लागि ती कामहरु र प्रतिबद्धताहरु कार्यान्वनमा लैजाऊ।'
उनले नेपालको संविधानले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशीताको सिद्धान्त दिएको तर यी सिद्धान्तहरुलाई नेपालका शासकहरुले आफ्नै खल्तीको जस्तो गरेर मनोमानी ढंगले कार्यान्वयनको पाटोमा लगिरहेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।