काठमाडौं- सुनचाँदीको आपूर्ति व्यवस्था सहज बनाउन व्यवसायीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग अनुरोध गरेका छन्। बजारमा सुनचाँदीको आपूर्ति व्यवस्था प्रभावकारी बन्न नसकेकोले व्यवसायीहरुलाई परम्परागत व्यवसाय सञ्चालन गर्न नै धौधौ परेको भन्दै उनीहरुले यस्तो आग्रह गरेका हुन्।
विभिन्न परम्परागत सीप तथा कला संरक्षणमा तथा प्रवर्द्धन तथा औद्योगिकीकरण गर्ने उद्देश्यबाट स्थापित बीजी एण्ड ग्रुप कम्पनी लिमिटेड (विश्वकर्मा गोल्ड एण्ड सिल्भर आर्टिसियन नेसनल ट्रेड सेभिङ ग्रुप कम्पनी लिमटेड) ले कम्पनीका लागि आवश्यक कच्चा पदार्थ (सुन चाँदी) आपूर्तिको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका हुन्।
कम्पनीका प्रमुख संरक्षक तथा विश्वकर्मा सुनचाँदी व्यवसायी सञ्जालका केन्द्रीय संयोजक अर्जुन रसाइलीले कम्पनीको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई आज ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरिएको हो। सो अवसरमा भेटमा सहभागीहरूले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना पनि व्यक्त गरेका थिए।
भेटका क्रममा नेपालका विभिन परम्परागत सीप तथा पेसाअन्तर्गत सुनचाँदी पेसाको संरक्षण साथै स्वदेशी कालिगढको उत्पादनमा जोड दिएर देशमा रोजगारीको अवसर सिर्जना गर्न र स्वदेशमै गहना उत्पादन गरी विदेश निर्यात गर्ने कुरामा जोड दिन प्रधानमन्त्रीसँग आग्रह गरिएको व्यवसायीले बताए।
नेपालमा सुनको सिफारिस तथा वितरण गर्ने जिम्मा लिएका संघसंस्थाले सुन आपूर्तिका लागि प्रभावकारी कदम चाल्न नसकिरहेको अवस्थामा व्यवसायीका लागि आवश्यक कच्चा पदार्थ आपूर्तिको व्यवस्था गरिदिन प्रधानमन्त्री देउवासँग आग्रह गरिएको बताइएको छ। सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सकारात्मक प्रतिक्रिया दिएको भेटमा सहभागीहरूले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।