प्रतिकात्मक तस्वीर
काठमाडौं– सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परीक्षा स्थगन गर्न माग गरेको छ ।
महासंघका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा १२ को परीक्षा एक्कासी स्थगनको सूचना सार्वजनिक गरेकामा गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। विज्ञप्तिमा भरपर्दो विकल्प, नयाँ तालिका र विधि नदिइ परीक्षा स्थगित गरिएकोप्रति चिन्ता व्यक्त गरिएको छ ।
बोर्डले शैक्षिक सरोकारवालाको छलफलपछि परीक्षा केन्द्र/कोठामा स्वास्थ्य सुरक्षा अपनाउने गरी हेल्थ डेस्क राख्ने, पिसीआर परीक्षण, मास्क र स्यानिटाइजरको व्यवस्था र परीक्षा हलमा २५ जना नबढाइ सो परीक्षा सञ्चालन गर्ने निर्देशिकासहित कार्यतालिका सार्वजनिक भएकामा एकाएक स्थगन गरिएको महासंघको भनाइ छ ।
बोर्डले कोरोनाको जोखिम बढेको तथा नेपाल सरकारको आग्रहका आधारमा परीक्षा स्थगन गरेको थियो। महासंघले परीक्षा स्थगन हुँदा विद्यार्थीको सिकाइमा दीर्घकालीन मनोवैज्ञानिक असर पर्न गएको, परीक्षाको गुणस्तर घटेको र विद्यार्थीमा निराशा पैदा हुने भएकाले अन्योल हटाउने गरी चाँडै नयाँ तालिका र विधि ल्याउन माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।