काठमाडौं– असार १ र त्यसपछि गएको हेलम्बुको भेम्राथाङको पहिरो अध्ययनका लागि पुगेका विज्ञहरुको टोलीले रोकिएको गेग्रान फुटे अकल्पनिय क्षति हुने चेतावनी दिएको छ। अहिले ढुङ्गाजस्तो देखिने बाँधले पहिरो रोकेको र त्यो फुटेर आएमा तटीय क्षेत्रमा कल्पना गर्न नसकिने क्षति हुने विज्ञ टोलीले चेतावनी दिएको हो।
शुक्रबार बिहान हेलम्बु गाउँपालिकाको क्षेत्र नम्बर १ मा रहेको भ्रेमाथाङ पुगेका नापी विभागका सिनियर डिभिजनल भूर्गभविद् शिवकुमार बास्कोटाले यस्तो चेतावनी दिएका हुन्।
शुक्रबार बिहानदेखि भ्रेमाथाङमा बसेर प्राविधिक टोलीले ड्रोनमार्फत् र भूगर्भविद्को टोलीले स्थानीय गाइडको सहायताले एकैसाथ सर्वे सुरु गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले बताए। नापी विभाग, त्रिभुवन विश्वविद्यालय पुल्चोक क्याम्पसका प्राविधिकसहितको टोली दुई दिनदेखि उक्त क्षेत्रको अध्ययनमा रहेको छ।
सिनियर डिभिजनल भूर्गभविद् बास्कोटाले भ्रेमाथाङमा ठूलो परिमाणमा करिब १५ मिटर गेग्रान थुप्रिएर रहेको बताए। करिब २ किलोमिटर लम्बाईमा फैलिएको भ्रेमाथाङको समथर क्षेत्रमा रहेको यी गेग्रान रोक्न सकिने अवस्था नभएको र एकैपटक बगेर आउँदा तल्लो क्षेत्रका सबै बस्ती र स्थानहरु नास गर्न सक्ने उनले बताए।
दोलाखदेखि हेलम्बुसम्मका सबै क्षेत्रहरु यो गेग्रानले भरिएर बस्ती बस्न लायक नहुन सक्ने अवस्था आउनसक्ने उनको चेतावनी छ। अब तत्कालीन रुपमा तटीय क्षेत्रमा कुनै पनि बस्ती बसाउन नहुने उनको चेतावनी छ। भर्खर पहिरोस्थलमा अध्ययन सुरु भएकाले धेरै कुरा बताउन नसकिने उनले बताए।
टोलीले केही दिन उक्त क्षेत्रमा अध्ययन गर्ने र मेलम्ची खानेपानी आयोजनको पनि अध्ययन गर्ने छ। उक्त सबै अध्ययन सकेर सरकारलाई हेलम्बु–मेलम्ची पहिरो र यसको रोकथामबारे सुझाव दिने छ। असार १ र साउन १६ गते आएको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा धेरै तहन नहस पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।