काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाका सहायकमार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बनिरहेका सहायक मार्गहरुले मुख्य सडकको भार कम गर्ने र सहरको सौन्दर्यमासमेत योगदान गर्नसक्ने निष्कर्ष निकाल्दै सहरी विकास मन्त्रालयलाई सम्बन्धित पक्षसँग मिलेर छिटो निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएको हो।
बैठकमा समितिले सहायकमार्ग निर्माणको काम समयमै सम्पन्न नहुँदा निर्माण खर्च बढेको र उपत्यकाको अन्य विकास निर्माणमासमेत असर परेको भन्दै सडकको हालको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको छ।
त्यसैगरी सहायकमार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको छ। समितिले बैठकमा उपत्यकाको बाहिरी चक्रपथ निर्माणबारे पनि चासो देखाएको छ। समितिले बाहिरी चक्रपथ उपत्यकाको सवारी चाप व्यवस्थापन र बस्ती विस्तारमासमेत महत्त्वपूर्ण भएकाले आयोजना अगाडि बढाउन बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढाउन सरकारी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।