फाइल तस्वीर
सिन्धुपाल्चोक– सात वर्षअघिको जुरे पहिरो प्रभावितले हालसम्म पनि राहत पाउन सकेका छैनन्। माथिबाट पहाड खस्दा जुरेको सिङ्गो बस्ती नै पुरिएको थियो भने १४५ जनाको मृत्यु भएको थियो।
पहिरोपीडितका लागि देश विदेशबाट दाताले दिएको रु दुई करोड २४ लाख राहत रकम सात वर्षसम्म सरकारी खातामा रोक्का भएर रहेको छ।
पहिरोपीडितको राहत रकमका लागि पटक–पटक पहिरोपीडित जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसम्म पनि धाउँदा पनि केही नपाएको स्थानीयले बताएका छन्।
सात वर्ष बित्दासमेत आफूहरुको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएको जुरे पहिरोपीडित बलेफीका रामबहादुर तामाङले बताए।
विसं २०७१ साउन १७ गते बिहान ३ बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठूलो पहिरो गएको हो । तीनैवटा स्थानीय तहमा ठूलो मानवीय र भौतिक क्षति भयो।
अरनिको राजमार्ग पूर्णरूपमा लामो समय बन्द रह्यो। भोटेकोशी र सुनकोशी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिरोले १८ घण्टा नदी थुनिँदा जुरे आसपासमा आक्रान्त थियो। सानिमा जलविद्युत् आयोजना र सुनकोशी जलविद्युत् आयोजनाको बाँधसहित विद्युतगृहमा क्षति पुगेको थियो।
सात वर्षसम्म सरकारी खातामा जम्मा भएर बसेको रकमको आशमा बाँचेका अधिकांश पहिरोपीडितले दैवी प्रकोप उद्धार समितिसँग घर घडेरीकै माग गरेका छन्। केही पहिरोपीडितले भने रकम नै वितरण गर्नुपर्ने बताउँदै आएका छन्।
विसं २०७६ मङ्सिर १४ गतेको मन्त्रिपरिषद्को निर्णयले पहिरोपीडितलाई भूकम्पपीडितसरह रकम मात्रै उपलब्ध गराउने निर्णय गर्यो।
त्यसपछि सरकारले गरेको निर्णय स्वीकार नभएपछि फेरि स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकायले मन्त्रिपरिषद्को निर्णय मान्य नहुने जानकारी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।