काठमाडौं- सिन्धुपाल्चोकमा यस वर्षको बाढी र पहिरोबाट पीडित एवं विस्थापितहरुलाई सहजीकरण गर्न गठित विपद् व्यवस्थापन सर्वपक्षीय समितिले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ।
समितिका आवद्ध अधिकारीहरुल शनिबार सभामुख सापकोटालाई उनको निवास लैनचौरमा भेटेर मेलम्ची र इन्द्रावती नदीले पुल बगाएको स्थानमा तत्काल बेलिब्रिज स्थापना गरी सडक सम्पर्क जोड्न, अबरुद्ध विद्युत र सञ्चार सम्पर्क स्थापित गर्न विशेष पहल गरिदिन आग्रहसहित ध्यानाकर्षण पत्र बुझाएको हो।
हेलम्बु र मेलम्ची क्षेत्रमा गत असार १ र साउन १७ गते आएको बाढीले भएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदनसहितको पत्रमा पुल, विद्युत, टेलिफोन सेवा तत्काल सञ्चालन गर्ने व्यवस्था, प्रभावित क्षेत्रमा आधरभूत खानेपानी मर्मत गरी खानेपानीको आधरभूत व्यवस्थान, नदी तटीय क्षेत्रका बस्तीहरु स्थानन्तरण गर्न अस्थायी आवास निर्माण सामग्रीको उपलब्धता लगायतका विषय समेटिएका छन्।
ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले मेलम्ची र हेलम्बु क्षेत्रका बाढी पहिरो प्रभावितसँग सम्बन्धित विषय आफ्नो प्राथमिकतामा रहेको बताए। गत असार २ गते बाढीबाट भएका क्षतिको स्थलगत जानकारी लिएर फर्केपछि आफूले विपद् व्यवस्थापन क्षेत्रका विज्ञहरु, सम्बन्धित सरकारी संयन्त्रका अधिकारीहरुसँग प्रकोप व्यवस्थापनका विषयमा निरन्तर छलफल गरिरहेको उनले जानकारी दिए।
उनले साउन १४ गते गृहमन्त्री बालकृष्ण खाणसँग तत्काल २ वटा बेलिब्रिज स्थापना गरेर सडक सम्पर्क स्थापित गर्ने विषयमा छलफल भएको जनाए। सभामुख सापकोटाले शुक्रबार ऊर्जामन्त्री पम्फा भुसालसँगको भेटमा बाढी पहिरो प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत सेवा सञ्चालन गर्ने विषयमा छलफल भएको जानकारी गराउँदै छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ।
गत असार २ गते सभामुख सापकोटाको उपस्थितिमा मेलम्ची नगरपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय बैठकबाट सो क्षेत्रमा बाढी, पहिरोबाट पीडितहरुलाई सहजीकरण गर्न जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा सर्वपक्षीय सहभागितासहित ‘इन्द्रावती, मेलम्ची क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समिति’ गठन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।