काठमाडौं- २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज एसईई परीक्षाको नतिजा प्रकाशित गरेको हो।
बोर्डको आज बसेको बैठकले चार लाख ८४ हजार २७८ विद्यार्थीेको नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए। नतिजा सार्वजनिक गर्दा बोर्डले यस वर्ष पनि कति विद्यार्थीले कुन जीपीए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन।
'यस वर्ष कति विद्यार्थीले कुन जीपीए ल्याए भने छुट्याएनौँ, जिल्लाबाट प्रमाणीकरण भएर आएको मूल्याङ्कनको नतिजालाई नै बोर्डले प्रमाणीकरण गरेको छ,' नतिजा सार्वजानिक गर्दै परीक्षा नियन्त्रक अधिकारीले भने।
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्याङ्कन सङ्कलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो। कोरोना भाइरस सङ्क्रमण बढेपछि यस वर्ष विद्यार्थीको भौतिकरुपमा परीक्षा सञ्चालन नगरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो।
नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने बोर्डले जनाएको छ। एनटीसी र एनसेलको मोबाइलबाट आफ्नो सिम्बोल नम्बर १६०० मा एसएमएस गरेर गरी नतिजा प्राप्त गर्न सकिने बोर्डले जनाएको छ। अन्य विभिन्न कम्पनीको ३४९४९, ३१००३, ३५००१ मा एसएमएस गरेर हेर्न सकिने व्यवस्था गरेको छ।
यस्तै www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np, www.ncell.axiata.com लगायतबाट एसईईको नतिजा हेर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।