काठमाडौं- जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज कोरोनाविरुद्धको खोपमध्ये शनिबार पहिलो खेप काठमाडौं आइपुगेको छ।
कतार एअरको विमानबाट खोप ल्याइएको हो। पहिलो खेपमा आज पाँच लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको छ। आइतबार थप ५ लाख डोज खोप आउने बताइएको छ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले जापानबाट दुई चरणमा खोप नेपाल आइपुग्ने जानकारी दिएका छन्।
मन्त्रालयका अनुसार १६ लाखमध्ये बाँकी रहेको खोप पनि अर्को साता नेपाल आउने सम्भावना रहेको छ।
भुटानबाट पनि शुक्रबार २ लाख ३० हजार डोज एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको छ।
यो खोप कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई लगाइने बताइएको छ। सरकारले अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।
दोस्रो मात्रा १२ सातामा लगाउनुपर्ने भएपनि भारत खरिदको खोप उपलब्ध नगराउँदा उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउने निर्णय यस अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरिसकेको छ।
सरकारले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनका लगाउने तयारी गरेको हो।
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले साउन २५ गतेदेखि कोभिसिल्डको पहिलो डोज लगाएकालाई एस्ट्राजेनेकाको दोस्रो मात्रा खोप लगाउने तयारी भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।