फाइल तस्वीर
कैलाली- कैलालीको टीकापुर नगरपालिका–२ मूलपानी नजिक भूराखानी क्षेत्र र वडा नं ५ मा भुराखानीमा कर्णाली नदीले कटान तीव्र पारेको छ।
नदी कटान तीव्र भएपछि कटान भइरहेका ठाउँमा तत्काल जैविक तटबन्ध गरिने भएको छ। तटबन्धका लागि टीकापुर नगरपालिका, रानीजमरा कुलरिया सिँचाइ आयोजना, आयोजनाअन्तर्गतका समिति, जिल्ला विपद् व्यवस्थापन समिति, नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिइने भएको छ।
नदीमा पानीको बहाव बढेपछि यसअघि रानीजमरा कुलरिया सिँचाइ आयोजनाले गत वर्ष निर्माण गरेको तटबन्ध भत्काएको छ। गत वर्ष निर्माण भएको तटबन्ध अब डेढ मिटरमात्र बाँकी छ।
यो तटबन्ध भत्किएमा नदी बस्तीमा पस्ने जोखिम छ। नदी बस्तीमा पसेमा टीकापुरका वडा नं ६, ७, ८ र ९ प्रभावित हुनेछन्। नगरस्तरीय विपद् व्यवस्थापन समितिका बैठकले तत्कालै तटबन्ध कार्य शुरु गर्नुपर्ने तयारी गरेपछि नेपाली सेनाको टोलीले कटान भइरहेको स्थल अध्ययन गरिसकेको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए।
“तत्कात तटबन्धका लागि आवश्यक सामग्री जुटाएर काम थाल्ने निर्णय गरेका छौँ, सम्भवत आजैबाट तटबन्धको काम शुरु हुन्छ, जनशक्ति सिँचाइ कुलाका उपभोक्तालाई काममा लगाउने सहमति भएको छ”, नगर प्रमुख रावलले भने, “समयमै नदी नियन्त्रण गर्न नसके बस्ती सखाप हुन्छ।”
तटबन्ध भत्कन थालेपछि नियन्त्रणका लागि रानीजमरा कुलरिया सिँचाइ आयोजनामार्फत ठूला ढुङ्गा प्रयोग गरी नदी नियन्त्रणको कार्यसमेत भइरहेको छ। चिसापानी र मोहन्याल क्षेत्रबाट ठूला ढुङ्गा ल्याएर तटबन्ध भइरहेको छ तर ढुङ्गा पाउन समस्या भएपछि जैविक तटबन्धसमेत गर्ने तयारी गरिएको रावल बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।