काठमाडौं- वैदेशिक रोजगारलाई सुरक्षित बनाउने सरकारी योजनाको माग गर्दै संसद्मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ।
कोभिड-१९ का कारण विदेशमा समस्यामा परेका, कोभिडबाट मृत्यु भएका व्यक्तिका परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई सरकारको तर्फबाट भएका सहयोगको जानकारी गराउन माग गरिएको छ। वैदेशिक रोजगार असुरक्षित भएकोले त्यसलाई सुरक्षित बनाउन सरकारको योजनाको माग गरिएको छ।
प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा कोभिड-१९ बाट सिर्जित समस्याले वैदेशिक रोजगारमा ज्यान गुमाउने तथ्यांकमा माग गरिएको छ। रोजगारी गुमाउने र स्वदेश फर्किनेहरुको तथ्यांकका लागि पनि छलफल आवश्यक रहेको प्रस्तावमा उल्लेख छ। रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिको परिवार तथा रोजगारी गुमाएका व्यक्तिलाई नेपाल सरकारको तर्फबाट के कस्तो सहयोग भएको छ? जानकारी माग गरिएको छ।
वैदेशिक रोजगारबाट फर्केका र स्वदेशमै पनि बेरोजगार भएका व्यक्तिहरुलाई सरकारले उपलब्ध गराएको रोगजारीको व्यवस्थामा छलफलको आवश्यकता रहेको जनाइएको छ। अहिलेसम्म सम्झौता तथा समझदारी भएका मुलुकमा अनुगमन नभएको र अब हुने अनुगमन र श्रम सम्झौतामा जवाफ खोजिएको छ।
कांग्रेस सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक, प्रमिला राई र रामबहादुर विष्ट समर्थक रहेर उक्त प्रस्ताव दर्ता गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।