फाइल तस्वीर
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
बिहीबारदेखि काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा सुरु भएको बैठकमा आज केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने नेता रघुजी पन्तले बताए।
हिजोको बैठकमा सदस्यहरुले बोल्ने क्रम नसकिएपछि बाँकी रहेका नेताहरुले आज आफ्नो धारणा राख्ने भएका हुन्। त्यसका लागि एक केन्द्रीय सदस्यका लागि ३ मिनेटको समय उपलब्ध गराइने भएको छ।
हिजोको बैठकमा केन्द्रीय नेताहरु विजय पौडेल, झपट रावल, रामकुमारी झाँक्री, सावित्रा भुसाल, निरा जैरु, ठाकुर गैरे र भानुभक्त जोशी लगायतले बोलेका थिए।
बैठकका सहभागी नेताहरुले पार्टीको अन्तरबिरोधका विषयमा आफ्नो धारणा राखेका थिए। हिजोको बैठकमा ७३ जना केन्द्रीय सदस्य उपस्थित भएर हस्ताक्षर गरेको एक नेताले जानकारी दिए। पार्टी एकताको सम्भावना क्षीण हुँदै गएको अवस्थामा आफू पक्षका नेताहरूको धारणा बुझ्नका लागि नेता नेपालले केन्द्रीय कमिटी बैठक आयोजना गरेका हुन्।
हिजोको बैठकमा नेपाल पक्षका कार्यदलको संयोजक भीम रावलले १० बुँदे सहमतिको ब्रिफिङ गरेका थिए।
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको बोली पार्टी एकताको बाधक बनेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।