काठमाडौं- भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। भुटानबाट खोप लिएर आएको विमान बिहान ९:१५ मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुगेको हो।
भुटानबाट आएको ३ लाख डोज एस्ट्राजेनेका खोप प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।
उक्त खोप कोभिसिल्डको पहिलो डोज लगाएका समूहलाई लगाइने बताइएको छ। जापानबाट पनि एस्ट्राजेनेकाको खोप शनिबार आइपुग्ने बताइएको छ।
भुटानले आफ्नो देशका सबै नागरिकलाई लगाइसकेपछि उब्रिएको खोपमध्ये ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाललाई दिएको हो। एस्ट्राजेनेका र कोभिसिल्ड एउटै प्रकृतिका खोप हुन्।
७ लाख ८० हजार जनसंख्या रहेको भुटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा दिएको मात्रै गरी ९ लाख बढी डोज खोप प्राप्त गरेको थियो।
भारतले १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएपछि नेपालमा गत माघबाट खोप अभियान शुरु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।