फाइल तस्वीर
काठमाडौं– नेपाल उद्योग परिसंघको नवनिर्वाचित कार्यसमिति सदस्यले प्रधानमन्त्री शरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार सम्पन्न भेटमा प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताएको परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए।
सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता ल्याउन सबैलाई खोपको व्यवस्था हुनुपर्नेमा जोड दिए। कोभिडको भ्याक्सिन वितरणमा उद्योगी व्यवसायी र उद्योग व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राख्नसमेत उनले आग्रह गरे।
कोभिड– १९ को तेस्रो लहरको जोखिम बढ्दै जाँदा अस्पताल, अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा जटिलता बढ्न सक्ने भएकाले अहिलेदेखि नै अक्सिजन प्लान्ट, सिलिन्डर र अस्पतालको चुस्त व्यवस्थापनका लागि पनि उनले आग्रह गरे।
उत्पादनमुखी अर्थतन्त्र अहिलेको अपरिहार्य आवश्यकता रहेको बताउँदै अध्यक्ष अग्रवालले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसङ्घले ‘मेक इन नेपाल– स्वदेशी’ अभियान सञ्चालन गरेको जानकारी दिए।
यसैगरी, भेटका क्रममा अग्रवालले नेपाल विद्युत् प्राधिकरणले छुट बिलका नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने गरी बक्यौता भुक्तानीका लागि पत्राचार गरेको र हाल आएर सो को बक्यौता उठाउन ताकेता गरिरहेको भन्दै डेडिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि पहल गरिदिनसमेत प्रधानमन्त्रीसमक्ष आग्रह गरे।
अग्रवालले गत वर्ष मौद्रिक नीतिले तरलता व्यवस्थापन र एकल दरको ब्याजदर कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै गर्दै यस वर्ष पनि अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रका लागि आवश्यक तरलता व्यवस्थापन र ब्याजदर वृद्धि रोक्ने गरी मौद्रिक नीति आउनेमा आफूहरू विश्वस्त रहेको भेटका अवसरमा बताए।
पर्यटन, हवाई उड्डयन, साना तथा मझौला व्यवसायलगायतका क्षेत्रमा कोभिडको ठूलो असर परेको बताउँदै अध्यक्ष अग्रवालले व्यवसायलाई पुनःजिवित गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ठूलो सहयोग आवश्यक पर्ने उल्लेख गरे।
परिसंघले ह्विलिङ चार्ज तिरेर विद्युत् आपूर्ति गर्न पाउने विषय नीतिगतरूपमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्नुपर्नेमा समेत जोड दिएको छ।
यसैबीच पपिरसंघ प्रतिनिधिमण्डलले उर्जामन्त्री पम्फा भुसालसँग भेट गरेको छ। भेटका अवसरमा मन्त्री भुसालले आन्तरिक उत्पादन बढेसँगै औद्योगिक क्षेत्रको विद्युत् महसुल घटाउने तयारीमा सरकार रहेको बताएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।