काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी दलले सांसद अपहरणको आरोप लगाएको भन्दै 'असन्तुष्टि' पोखेका छन्।
प्रदेश सभामा सांसदको संख्या कम हुनुमा 'जिम्मेवार' रहेको प्रतिपक्षले नै सांसद अपहरणको आरोप लगाएको भन्दै मुख्यमन्त्री पोखरेले त्यसबारे 'इतिहासले उत्तर खोज्ने' टिप्पणी गरेका छन्।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै पोखरेलले भनेका छन्– 'दुईजना माननियलाई 'फकाएर' राजिनामा गराउन सक्ने, ६ जनालाई 'अनुशासन'को डण्डा चलाएर निष्कासन गर्न सक्ने र एकजना माननियलाई 'दल' परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई 'अपहरण'को आरोप पनि लगाएछ। ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो? इतिहासले उत्तर अवश्य खोज्नेछ।'
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचित भए पार्टी विघटन भएपछि माओवादी केन्द्र रोजेकी प्रदेश सभा सदस्य विमला खत्री ओलीले बिहीबार वक्तव्य जारी गर्दै आफूलाई अपहरण गरी मुख्यमन्त्री पोखरेलको निवासमा बन्धक बनाइएको आरोप लगाएकी थिइन्।
लुम्बिनीको सत्तारुढ दल नेकपा एमालेका नेताहरुले सांसद ओलीको आरोपको खण्डन गर्दै एमालेलाई कमजोर बनाउन झूटो कुराको प्रचार गरिएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।