काठमाडौं- राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शैक्षिक परामर्श क्षेत्रका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार संघको टोलीले प्रधानमन्त्री देउवालाई शैक्षिक परामर्शको क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्न आग्रह गरेको हो।
२०२८ सालदेखिको शिक्षा ऐनले शैक्षिक परामर्शसँग सम्बन्धित व्यवसायलाई नसमेटेको र समयानुकुल नरहेको भन्दै नेकाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको राष्ट्रिय शैक्षिक परामर्श संघका उपाध्यक्ष निरज सिटौलाले बताए। त्यसक्रममा प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि समन्वयकारी भूमिका खेल्ने बताएको उपाध्यक्ष सिटौलाले जानकारी दिए। शिक्षामन्त्री नियुक्त भएपछि थप छलफल गर्ने प्रधानमन्त्री देउवाले आश्वासन दिएको उनको भनाइ छ।
देश संघीयतामा गएपछि स्पष्ट कानुनको अभावमा शैक्षिक परामर्श दिने व्यवसायी समस्यामा परेको उपाध्यक्ष सिटौलाले बताए। संघीय संरचना अनुरुपको कानुन नहुँदा समस्या बढेको बारेमा आफूहरुले प्रधानमन्त्रीलाई जानकारी गराएको उनको भनाइ छ।
संघ, प्रदेश र स्थानीय तहले आफूहरुलाई दर्ता र लेवी तिर्न भनिरहेको भन्दै उनले त्यसका लागि कहाँ दर्ता हुने हो स्पष्ट व्यवस्था गर्नुपर्ने बताए।
कोरोना महामारीका कारण वैदेशिक अध्ययनका लागि जाने विद्यार्थी र व्यवसाय सञ्चालन गरिरहेका आफूहरुलाई समस्या परेको भएपनि अहिले एनओसीको काम भने बन्द नभएको उनले बताए। एनओसीबारे प्रधानमन्त्रीले पनि चासो राखेको उनको भनाइ थियो। एनओसी नरोकिएको भएपनि विद्यार्थीहरुले दु:ख पाइरहेको सिटौलाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।