काठमाडौं- नाडा अटोमोबाइल्स एसोसियसनको प्रतिनिधिमण्डलले कोरोना महामारीका कारण धरापमा परेको अटोमोबाइल क्षेत्रलाई पुन: गतिशील बनाउन विशेष पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग गरेको छ। महासंघका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको सात सदस्यीय मण्डलले प्रधानमन्त्री देउवालाई भेटी उक्त माग गरेको हो।
भेटमा केन्द्रीय कार्य समिति सदस्य, सार्वजनिक सवारीसाधन समिति, सडक सुरक्षा तथा वातावरण समितिका सभापति राजनबानु श्रेष्ठले लामो बन्दाबन्दीका कारण बस, मिनिबस र माइक्रोबस व्यवसायीहरु ठूलो मर्कामा परेकाले उनीहरुको राहतका लागि सरकारले अन्य व्यवसायीहरुलाई उपलब्ध गराउँदै आएको जस्तै आर्थिक राहत व्यवस्था गर्नुपर्ने माग राखेका थिए।
उनले वन तथा वातावरण मन्त्रालयले जिप, कार, भ्यान र मोटरसाइकलमा यूरो-६/बीएस-५ लागू गर्न लागेको विषय सराहनीय भए पनि त्यसको कार्यान्वयनका लागि व्यवसायीहरुलाई पर्याप्त समय उपलब्ध गराइदिने व्यवस्थाका लागि प्रधानमन्त्रीसँग आग्रह गरे।
उक्त छलफलमा नाडाका अर्का उपाध्यक्ष आकाश गोल्छा, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्यसमिति सदस्य दीपक अग्रवाल र एसोसियसन सचिव सुरेन्द्र प्रधानलगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।