काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुद्धिकरण अभियान, संयुक्त संघर्ष समितिबीच सहमति भएको छ।
बुधबार दुई पक्षबीच ६ बुँदे सहमति भएसँगै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संघर्ष समितले साउन १६ मा घोषणा गरेका संघर्षका कार्यक्रमहरु हाललाई स्थगित गरी प्रतिष्ठानबाट प्रदान गरिने सेवाहरु सुचारु हुने भएका छन्।
मन्त्रालयका तर्फबाट डा कृष्णप्रसाद पौडेल, मानबहादुर बस्नेत र देवराज भण्डारीले तथा संघर्ष समितिका तर्फबाट संयोजक डा एसपी रिमाल, सह संयोजक डा विष्णु पोखरेल लगायतका १४ जना सदस्यहरुले हस्ताक्षर गरि जारी गरेको सहमति पत्रमा २०७८ साल श्रावण १९ मा सार्वजनिक भएको “वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानवीन कार्यदल” को प्रतिवेदनको परिच्छेद ३ मा उल्लेख गरिएको समस्या समाधानको लागि सुझाव कार्ययोजनाको अनुसूची - १ बमोजिमको सुझाव कार्ययोजनाको समय-सीमाभित्र कार्यान्वयनमा लैजाने साथै यसअघि बनेका प्रतिवेदनहरु सार्वजनिक गरी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक महाशाखा आजै तोक्ने सहमति भएको उल्लेख गरिएको छ।
त्यस्तै वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११घ मा व्यवस्था भएअनुरुप चारैजना पदाधिकारीहरुलाई पदबाट हटाउन सकिने व्यवस्थामा उल्लेखित प्रकृया आजैबाट शुरु गर्ने र अब उप्रान्त, प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने दुई पक्षबीच सहमति भएको छ।
उक्त कार्यविधि तर्जुमा गर्दा २०७८ श्रावण १९ मा सार्वजनिक भएको “वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको समस्या पहिचान तथा छानवीन कार्यदल” को प्रतिवेदनको परिच्छेद - ३ मा उल्लेख गरिएको समस्या समाधानको लागि सुझाव तथा सुझाव कार्ययोजनाका लागि (अनुसूची - १ को ४ बमोजिमको सुझाव, विभिन्न समयमा अध्ययन भई पेश भएका प्रा. डा. परासर कोईराला, प्रा. डा. रमेशकान्त अधिकारी, डा. हरि लम्साल संयोजक रहेको प्रतिवेदन) मापदण्डसम्बन्धि प्रतिवेदन प्रचलित कानून समेतको आधारमा तर्जुमा गर्ने र उक्त निर्देशिकाको मस्यौदामा पदाधिकारी छनौट एवम् सिफारिस समेतको लागि विज्ञ रहेको छनौट समिति एवम् सिफारिसका आधार, नियुक्त पदाधिकारीको प्रतिष्ठानप्रतिको प्रतिवद्धता एवम् कार्यसम्पादन सम्झौता, सोको आवधिक अनुगमन मूल्यांकन तथा पारदर्शिताको सुनिश्चितता समावेश गर्ने सहमति भएको छ।
वी. पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा विचाराधिन उजुरी तथा मुद्दाहरुको कारबाहीको प्रक्रियाका अवस्था बुझी शीघ्र कार्य फस्यौटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवम् सहजीकरण गर्ने लगायतका सहमति भएका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।