काठमाडौं- शुक्रबारदेखि देशभर भेरोसेलको दोस्रो मात्रा खोप लगाउन सुरु गरिने भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले आसार २९ गते देखि सञ्चालन गरिएको खोप अभियानका क्रममा खोप लगाएकाहरुका लागि दोस्रो मात्रा लगाउने निर्णय गरेको हो।
'आसार २९ गते देखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरूलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका सबै व्यक्तिहरूलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ श्रावण २२ गते देखि देशभरी खोप अभियान सञ्चालन गर्ने' निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
हालसम्म कोभिड-१९ खोप लगाउन बाँकी रहेका व्यक्तिहरूले खोप लगाउनको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवसाइट मा अनिवार्य दर्ता गराउनु पर्ने र यसैको आधारमा मात्र तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोप दिने व्यवस्था गराउन मन्त्रालयले ७७ जिल्लाका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ।
विदेश जाने नेपाली नागरिकलाई कोभिड-१९ खोप लगाएको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउने कार्य किर्तिपुर नगरपालिकास्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट साउन २० देखि शुरुवात गरी क्रमश : काठमाडौं उपत्यका लगायत अन्य जिल्लाहरूमा पनि विस्तार गर्दै जाने र खोपको मात्रा पूरा गरेका सबै व्यक्तिहरूलाई क्रमश क्यू आरकोड सहितको विद्युतीय प्रमाण पत्र उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।