फाइल तस्वीर
काठमाडौं– यो वर्षको मनसुन सुरु भएयता हालसम्म देशभर ६१९ बाढीपहिरोका घटना भएका छन्। जेठ ३१ देखि साउन १९ गतेसम्म देशका विभिन्न जिल्लामा ६१९ प्राकृतिक विपत्तिका घटना भएको सरकारी तथ्यांक छ।
प्रकृतिक विपत्तिबाट यो वर्ष ६६ जनाको मृत्यु भएको छ। ४० जना बेपत्ता भएका छन् भने २१ जना घाइते भएका छन्।
देशभर हालसम्म ६९० निजी घर पूर्णरूपमा क्षति भएका छन् भने १६२ घरमा आंशिक क्षति पुगेको छ। विभिन्न ३७ वटा सरकारी कार्यालयमा समेत क्षति पुगेको छ।
सिन्धुपाल्चोकलगायत विभिन्न जिल्लामा सातवटा मोटरेबल पुल र २७ वटा झोलुंगे पुल तथा ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ भने देशभारका २५ वटा निर्माणाधीन जलविद्युत् आयोजनामा आंशिक क्षति पुगेको छ।
यो वर्ष मनसुनपछि उत्पन्न प्राकृतिक प्रकोपबाट सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित बनेको छ।
असार १ गते राति मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकामा मेलम्ची तथा इन्द्रावती नदीमा आएको बाढीमा परी पाँच जनाको मृत्यु, २० जना बेपत्ता र छ घाइते भएका थिए।
त्यसैगरी ३३८ घर पूर्णरूपमा क्षति भएको छ भने सातवटा पुल, १४ झोलुंगे पुल, पाँच वटा माछा फार्म र ३२ वटा सरकारी भवन तथा मेलम्ची खानेपानी आयोजनाको हेडबक्र्ससमेत क्षति पुगेको थियो। पुनः गत शनिवारदेखिको बाढीले मेलम्ची क्षेत्रमा थप क्षति गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।