काठमाडौं- मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरूले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा अजेण्डामा काम गर्नुपर्नेमा जोड दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई)का पदाधिकारीहरूले उक्त कुरामा जोड दिएका हुन्।
महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा आज महासंघ सचिवालयमा स्वागत कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले सीआनआईका पदाधिकारीहरूको स्वागत गर्दै कार्यगत एकताको प्रस्ताव राखेका थिए।
निजी क्षेत्रको प्रवर्द्धनका लागि काम गर्न अपरिहार्य भएकाले दुवै संस्थाबीच साझा अजेण्डा तय गरेर अगाडि जानुपर्नेमा सो अवसरमा जोड दिइएको थियो। त्यसका लागि एउटा स्थायी प्रकृतिको संयन्त्र नै निर्माण गरेर जान सकिने धारणा व्यक्त गरिएको थियो। यसका लागि छिट्टै संस्थागत सहकार्यलाई औपचारिकता दिनुपर्नेमा सहमति भएको महासंघले जनाएको छ।
'कोरोना महामारीबाट मुलुकको अर्थतन्त्र उद्योग व्यवसाय कमजोर बनेका समयमा श्रमिक कामदारको तलबको विषय, कृषिमा विदेशी लगानी, बन्द हड्ताल लगायतका मुद्दामा भएका सहकार्यबाट निकै ठूलो सफलता प्राप्त भएकाले आगामी दिनमा पनि प्राथमिकता तय गरी जानुपर्नेमा जोड दिइयो,' महासंघले विज्ञप्तिमार्फत् भनेको छ।
उक्त अवसरमा सीएनआईका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरूको स्वागत गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले सीएनआईको नयाँ नेतृत्वसँग सहकार्य गर्न महासंघ तत्पर रहेको बताए। सम्मानित निजी क्षेत्र र समुन्नत नेपाल निर्माण सबैको साझा चासो भएकाले हामीले आर्थिक अजेण्डामा बलियो सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका थिए। 'दुवै संस्थाको स्ट्रेन्थबाट थुप्रै कार्य गर्न सक्छौं,' अध्यक्ष गोल्छाले भने, 'हामीले आउने दिनमा अझ बढी सहकार्यका हातहरू अगाडि बढाउनैपर्छ। मुलुकको अर्थतन्त्रको विस्तार, रोजगारी अभिवृद्धि, आर्थिक विकास दोहोरो अंकमा लैजाने र व्यापार घाटा आधा कटौती गर्ने मुख्य लक्ष्यका साथ महासंघले अगाडि सारेको 'नेट २०३०' र सीएनआईले अगाडि बढाएको 'मेक इन नेपाल अभियान'लाई कहाँ र कसरी सहकार्यका साथ काम गर्न सकिन्छ पहल गरौं।'
सीएनआईका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवालले संस्थागत सहकार्यका लागि महासंघले राखेको प्रस्तावमा सहकार्य गर्न सीएनआई तयार रहेको विश्वास दिलाए। अध्यक्ष अग्रवालले निजी क्षेत्रबीच संस्थागत सहकार्य र कार्यगत एकतामा जोड दिँदै अगाडि भने, 'अबका दिनमा हाम्रा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेर अगाडि बढ्नैपर्छ। निजी क्षेत्रको स्ट्रेन्थ देखाउन पनि सहकार्यबाहेक अर्को केही हुन्न।' उनले नवनिर्वाचित टिमको सम्मानमा महासंघले स्वागत कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।