काठमाडौं- कोरोना संक्रमितको संख्या पछिल्ला दिनमा बढिरहँदा काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप एकसाता लम्ब्याइएको छ। उपत्यकाका तीनै जिल्ला प्रशासनका प्रमुखहरुको बैठकले साउन २७ गते मध्यरातसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
कोभिड-१९ महामारीको रोकथाम तथा नियन्त्रण सम्बन्धमा नेपाल सरकार (मन्त्रिपरिषद) को निर्णय, कोभिड-१९ साट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी २७ गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेस्टुरेन्ट, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशालामा हुने दर्शक सहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम संचालन गर्न/ गराउन रोक लगाइएको छ। त्यस्तै खुला स्थानमा मानिसहरु भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्न/ गराउन नपाउने यसअघिको व्यवस्थालाई निरन्तरता दिइएको छ।
यस व्यवस्थालाई थप कडाईका साथ लागू गरिने सूचनामा जनाइएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।