काठमाडौं- गृहमन्त्री बालकृष्ण खाँणले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा देखापर्ने समस्याहरूलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका छन्।
नेपाल सनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा मन्त्री खाँणले व्यवसाय सञ्चालनमा देखिने जुनसुकै समस्या समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका हुन्।
‘मुलुकको कानुनले तोकेको सीमाभित्र रही कुनै पनि पेसा, व्यवसाय निर्वाधरूपमा सञ्चालन गर्न पाउनु सबैको अधिकार हो,’ मन्त्री खाँणले भने, ‘यसरी व्यवसाय सञ्चालन गर्दा कहीँ कतैबाट समस्याहरू आइपर्छन् भने त्यसलाई हटाउन हामी तयार छौं।’
सुनको खरिद-बिक्री, ओसारपसार, गरगहनाको निर्यात जस्ता कार्यहरू गर्दा कहीँ कतैबाट अप्ठ्यारो पर्न नहुने भन्दै उनले व्यवसाय सञ्चालनका दौरानमा अनावश्यक झन्झट र समस्या आएमा त्यसको निराकरणका लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।
गृहमन्त्री खाँणसँगको भेटका क्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका विभिन्न किसिमका समस्याहरूका बारेमा जानकारी गराएका थिए। व्यवसायीले तोकिएको प्रक्रिया पूरा गरेर खरिद गरेको सुन ओसारपसार गर्दा पनि अनावश्यक रूपमा झमेला बेहोनुपर्ने, सुन खरिद-बिक्रीका क्रममा अनावश्यक झन्झट आइपर्ने, अनाहकमा व्यवसायीलाई दुःख दिइने र झुटा मुद्दाहरू लगाइने जस्ता समस्याको बारेमा मन्त्री खाँणलाई जानकारी गराइएको उनले बताए।
यस्तै दिनदाहाडै व्यवसायीको हत्या गर्ने, चोरी र लुटपाट गर्नेजस्ता घट्नाहरू बढ्दै गएकोमा पनि उनले गृहमन्त्री खाँणको ध्यानाकर्षण गराउँदै व्यवसायीलाई महसुस हुनेगरी शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरे।
मन्त्री खाँणसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यसहित महासचिव धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ, सचिव किरणभाइ बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।