काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले मुलुकको आर्थिक विकास र रोजगारीको अवसर सिर्जना गर्नमा सुनचाँदी व्यवसाय क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताएका छन्।
यो क्षेत्रबाट बर्सेनि अर्बौको राजस्व प्राप्त हुने मात्र नभइ लाखौंको संख्यामा रोजगारीको अवसरसमेत सिर्जना हुने उनको भनाइ थियो। मुलुकको आर्थिक विकास र परिवर्तनमा यो क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए।
नेपाल सनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उपाध्यक्ष पौडेलले सुनचाँदी क्षेत्रको विकास र विस्तारका लागि राज्यले आवश्यक पहल गर्ने बताए। सुनचाँदी क्षेत्रका अजेण्डाहरूलाई राष्ट्रिय नीतिमा समावेश गरी त्यसलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सके यस क्षेत्रबाट थप लाभ लिन सकिने उनको भनाइ थियो।
मौलिक गरगहनाको संरक्षण र प्रवर्द्धन, खानी उत्खनन्, निर्यात प्रवर्द्धन जस्ता विषयलाई आयोगले महत्त्वका साथ हेर्ने प्रतिबद्धता पनि त्यसक्रममा उनले व्यक्त गरे।
उपाध्यक्ष पौडेलसँगको भेटमा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदी व्यवसाय सञ्चालनका क्रममा व्यवसायीले भोग्नुपरेका विभिन्न समस्याहरूको बारेमा जानकारी गराएका थिए। उनले यो व्यवसायको विकास र विस्तारका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा सुझाव प्रस्तुत गरेका थिए। बजारमा पर्याप्त मात्रामा कच्चा पदार्थको समेत आपूर्ति हुन नसक्दा यसवाट व्यवसाय सञ्चालनमा समस्या सिर्जना भएको उनको भनाइ थियो।
उपाध्यक्ष पौडेलसँगको भेटका क्रममा महासंघको तर्फबाट अध्यक्ष शाक्यसहित महासचिव धर्मसुन्दर बज्राचार्य, कोषाध्यक्ष सुदीप श्रेष्ठ, सचिव किरणभाइ बज्राचार्य लगायत उपस्थित रहेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।