काठमाडौं– शनिवारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६७ घरटहरा बगाएको छ। बाढीले आइतबार राति मेलम्ची–११ मा सात घर बगाएको छ।
यसअघि असार १ गतेको बाढीबाट जोगिएका घर शनिबारदेखि कटानको चपेटामा पर्न थालेका हुन्। पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासीले बताए।
बाढीले हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ र मेलम्चीमा १२ घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।
बाढीले चनौटे ग्याल्थुम र ढुङ्ग्रे बजार, मेलम्ची–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
यसअघि गत असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजारसमेत अहिले जोखिममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।