काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले संविधान रक्षाको आन्दोलनमा मिडिया क्षेत्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन्।
नेपाल पत्रकार महासंघद्वारा केन्द्रीय कार्यालयमा सोमबार आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले संविधानविरोधी गतिविधिका विरुद्ध निरन्तर आवाज उठाएर सञ्चार जगतले संविधानको रक्षा गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। अघिल्लो सरकारको संविधान विरोधी गतिविधिका विरुद्ध गठबन्धनकारी राजनीतिक दल, आमजनता, बुद्धिजीवि, कानुनविद्सँगै मिडिया क्षेत्रले सक्रिय भूमिका निर्वाह गरेका कारण लोकतन्त्र र संवैधानिक अधिकार जोगिएको उनको भनाइ छ।
स्वरोजगारमूलक साना तथा मझौला उद्योग व्यावसायसँगै स्वरोजगारमूलक मिडियाहरूका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्नेबारे सरकार प्रयत्नशील रहेको भन्दै मन्त्री शर्माले यसबारे आवश्यक व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकसँग पनि कुरा भइसकेको जानकारी दिए।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दुढतापूर्वक उभिने भन्दै उनले गल्ती कमजोरीहरू औंल्याएर रचनात्मक सहयोग गर्न आमसञ्चार जगतलाई आग्रह गरे।
मन्त्री शर्माले कोभिड संकटबाट पार पाउन कसैको एकल प्रयास पर्याप्त नहुने भन्दै सबै सरोकारवालाको सुझाव र सामूहिक प्रयत्नबाट राहतसम्बन्धी उचित निर्णय गरिने स्पष्ट पारे। दलीय स्वार्थभन्दा माथि उठेर संविधानले निर्दिष्ट गरेबमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नेतर्फ सबैले ध्यान दिनुपर्नेमा मन्त्री शर्माले जोड दिएका थिए।
महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले सञ्चार क्षेत्रमा संघीयता कार्यान्वयन गर्नुपर्ने, कोभिड पीडित सञ्चारकर्मीहरूका लागि राहत र पुनःस्थापना, समानुपातिक विज्ञापन नीति कार्यान्वयन, प्रेस स्वतन्त्रताको सम्मान लगायतका विषयहरूमा सरकार प्रतिबद्ध रहनुपर्ने बताए। उनले सरकारको राम्रो कामको प्रशंसा र नराम्रो कामको आलोचना गर्ने मिडियाको धर्म भएकोले यसको सम्मान गर्ने वातावरण निर्माणमा जोड दिए।
महासंघका महासचिव रोशन पुरीले पत्रकारहरूको पेसागत सुरक्षा, न्यूनतम पारिश्रमिक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षालगायतमा सरकारले सरकारले परिणाममुखी काम गर्नुपर्ने सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।