काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तम सिमेन्ट लिमिटेडको प्रमोटर सेयर खरिदसम्बन्धी विषयमा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको नाम जोडेर विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
'नेपाल धितोपत्र बोर्डमा महासंघको प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७/०८/३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उहाँको बोर्ड बैठकमा मिति २०७७/१०/११ देखिमात्र उपस्थिति रहेको व्यहोरा जानकारी गराउँछौं,' महासंघले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महासंघले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै उनको भाइले सेयर कारोबार गरेको विषयलाई जोडेर भ्रामक समाचार सम्प्रेषण गरेको दाबी गरेको छ।
'उहाँको भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै (ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७/०८/१४ मा) गरिएको सेयर कारोबारको विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भीर आँच पुर्याउने हुँदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रहसमेत गर्दछ,' महासंघले भनेको छ।
बुक विल्डिङमार्फत् साधारण सेयर निष्काशनको तयारी गरिरहेको सर्वोत्तमको विवादित संस्थापक सेयर किनबेच प्रकरणमा ढकालसहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष, नेप्सेका प्रमुखलगायत मुछिएका छन्। सर्वसाधारणलाई महँगोमा साधारण सेयर निष्काशनको तयारी गरेर सर्वोत्तमले नियामक निकायका अधिकारीसहितका सरोकारवाला व्यवसायीलाई संस्थापक सेयर बाँडेको आरोप लागेको छ। उक्त प्रकरण बाहिर आएपछि अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेलाई स्पष्टीकरण सोधेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।