काठमाडौं– टोखा नगरपालिकामा यसअघि रोकिएको कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ।
साउन १६ गते बिहान नगरपालिकाका परिवार नियोजन सुपरभाइजर निरीक्षक वसन्त गैरेमाथि हातपात भएपछि रोकिएको खोप कार्यक्रम आज (मंगलबार) देखि पुनः सञ्चालन गरिने भएको हो। खोप बिहान १० बजेदेखि लगाउन थालिने नगरपालिकाले जनाएको छ।
नगर प्रमुख प्रकाश अधिकारीले स्वास्थ्यकर्मी कुटपिट गर्ने स्थानीयको समूहलाई प्रहरीले नियन्त्रणमा लिइसकेको र गल्ती गर्ने समूहले पिटाइ खाने स्वास्थ्यकर्मी तथा प्रहरीसँग माफी मागिसकेकाले खोप कार्यक्रमलाई आजदेखि पुनः निरन्तरता दिइएको बताए।
नगरपालिकाले ५० वर्षमाथिका व्यक्ति, शिक्षक, प्राध्यापक, कर्मचारी, सार्वजनिक सवारी साधनका चालक एवं सहचालकलाई भेरोसेल खोप उपलब्ध गराउने जनाएको छ।
नगरपालिकाभित्रका मापदण्ड पुगेका व्यक्तिलाई खोप उपलब्ध गराउनका लागि टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी र मनोहर माध्यमिक विद्यालय सामाखुशीलाई खोप केन्द्र तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।