काठमाडौं– भारतीय सुरक्षाकर्मीले तुइनको लठ्ठा (डोरी) 'चुँडाल्दा' दार्चुलामा नेपाली नागरिक बेपत्ता भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।
घटनाको विषयमा स्थलगत अध्ययन गरी सत्यतथ्य पत्ता लगाउन भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो।
गृहमन्त्री बालकृष्ण खाणको निर्णयानुसार गठन भएको समितिमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।
५ सदस्यीय छानबिन समितिलाई १० दिनभित्र अनुसन्धान सकेर प्रतिवेदन बुझाउन भनिएको छ।
दार्चुलाको ब्यास गाउँपालिकाको खांङदाङ माल बस्ने जयसिंह धामी साउन १५ गते (शुक्रबार) बिहान तुइनमार्फत महाकाली नदी तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए। प्रत्यक्षदर्शीले भने भारतीय सीमा सुरक्षा बल (एसएबी)का सुरक्षाकर्मीले तुइनको लठ्ठा (डोरी) चुँडाल्दा धामी नदीमा खसेका बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।