काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा सरकारी खाता सञ्चालन व्यवस्थित गर्न राष्ट्रिय वाणिज्य बैंकका पदाधिकारीसँग छलफल गरेका छन्।
सिंहदबारस्थित सबै कार्यालयहरूको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्ने सन्दर्भमा बैंकका सीईओ लगायतका पदाधिकारी तथा सचिवालयका पदाधिकारीसँग सभामुख सापकोटाले आइतबार छलफल गरेका हुन्। खाता सञ्चालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउने विषयमा छलफल भएको सभामुखकाे सचिवालयले जनाएको छ।
लामो समयदेखिको प्रयासस्वरूप सरकारी स्वामित्वको बैंकमार्फत् व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरि विश्वास जित्नुपर्ने सभामुख सापकोटाले बताए|
छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको ७७ जिल्लामा २७४ शाखा सञ्चालचालन भइरहेको, २५० अरब भन्दा बढी डिपोजिट रहेको र १८० अरब भन्दा बढी क्रेडिट रहेको बताए।
उनले सरकारको निर्णयलाई अवसरको रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंक भन्दा राम्रो सेवा दिने प्रतिवद्धता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।