काठमाडौं– अन्तराष्ट्रिय गिरोहसँग मिलेर नेपालमा करोडौंको सट्टेबाजी धन्दा चलाएको आरोपमा पक्राउ परेकाहरु एक सातामै छुटेका छन्। पक्राउ परेका ६ जना सोमबार छुटेका हुन्।
प्रहरीदेखि सरकारी वकिलसम्मलाई प्रभावमा पारेर उनीहरु एक सातामै छुटेको छुटेको स्रोत बताउँछ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जेठ १५ गते अन्तराष्ट्रिय खेलकुदमा सट्टेबाजी धन्दा चलाएको आरोपमा फुटबलर अञ्जन केसीसहित ६ जनालाई पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेको ५ दिनमै मुद्दा बुझाएको थियो भने मुद्दा दर्ता भएको दिन सोमबार काठमाडौं जिल्ला अदालतले त्यसमा फैसला सुनाएको हो।
फैसलाअनुसार ५ जनालाई २/२ सय रुपैयाँ जरिवाना भएको छ। गिरोहका नाइके गौरव तिवारी, उनका सहयोगी भुपेन्द्र कुँवर, फुटबलर अञ्जन केसी, विजय श्रेष्ठ, नरेन्द्र श्रेष्ठ र दिनेश बोगटीलाई जुवा ऐनअनुसार उनीहरुलाई मुद्दा चलाइएको थियो। जसमध्ये बोगटीलाई अदालतले सफाई दिएको छ भने अरुलाई २/२ सय रुपैयाँ जरिवाना भएको हो। अदालतको फैसलाअनुसार पक्राउ परेका सबै जना सोमबार छुटेको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए।
प्रहरीले सट्टेबाटी खेलाउने विभिन्न प्रमाणहरु बरामद गरेको थियो। जसमा उनीहरुले करोडौंको कारोबार गरेको खुलेको थियो।
पक्राउ परेकाहरुलाई प्रहरीले २४ दिनसम्म थुनामा राखेर कारबाही गर्न सक्थ्यो। उनीहरुले अन्तराष्ट्रिय गिरोहसँग मिलेको भएकाले संगठित अपराध तथा मुद्दामा समेत अनुसन्धान गर्नुपर्ने अवस्था थियो। त्यस्तै सम्पती शुद्धिकरण मुद्दामा समेत अनुसन्धान गर्न सक्नेमा त्यसतर्फ अनुसन्धानमा प्रहरीले चासो दिएको छैन।
दबाबका आधारमा प्रहरीले विस्तृत अनुसन्धान हतार हतार मुद्दा बुझाएको हो। सो मुद्दामा संलग्न दावा लामा भने फरार छन्। गिरोहका अन्य सदस्यहरुको खोजीमा समेत प्रहरीले चासो दिएको छैन।
सम्बन्धित समाचारः सट्टेबाजी धन्दा : गुन्डादेखि प्रहरीसम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।