फाइल तस्वीर
कैलाली– कर्णाली नदीमा डुङ्गा पल्टिँदा १ जनाको मृत्यु भएको छ। डुङ्गा दुर्घटनामा अन्य ३ जना बेपत्ता भएका छन्।
कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्यचौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा १ जनाको मृत्यु भएको हो भने ३ जना बेपत्ता भएका हुन्।
डुङ्गा दुर्घटनामा मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका– ३ बस्ने १९ वर्षीया धनसरा सलामीमगर छन्। डुङ्गा दुर्घटनामा घाइते भएकी उनको उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनका १ महिनाका छोरा दुर्घटनामा घाइते भएका प्रहरीले जानकारी दिएको छ।
डुङ्गा दुर्घटना हुँदा बेपत्ता हुनेमा मोहन्याल–३ बस्ने २० वर्षीया उर्मिला सलामीमगर, उर्मिलाको १० दिनको शिशु र सोही ठाउँ बस्ने २० वर्षकी पार्वती थापा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।
डुङ्गामा १० मान्छे सवार रहेकामा पाँच जनाको भने सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बेपत्ता भएकाको खोजीका लागि इलाका प्रहरी कार्यालय सुगरखालको टोली घटनास्थलमा खटिएको जनाइएको छ। कर्णाली नदीमा पुल नहुँदा कर्णाली तर्नका लागि यहाँका बासिन्दाले ज्यान जोखिममा राखेर डुङ्गाबाट यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।