काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवासम्बन्धी सम्झौता भएको छ। महासंघको केन्द्रीय कार्यालय नक्सालमा आइतबार महासंघका अध्यक्ष माणिकरत्न शाक्य र गेटवे पेमेण्टका सल्लाहकार अशोककृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
दुई संस्थाबीच भएको यो सम्झौतापश्चात् सुनचाँदी व्यवसायीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बिक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणालीमार्फत् लिन सक्ने महासंघले जनाएको छ। यो सम्झौतापश्चात् अब सुनचाँदीका गरगहनाको खरिद गर्दा अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेसनल कार्डहरूमार्फत् रकम भुक्तानी गर्न थप सहज हुने महासंघको भनाइ छ। यसले उपभोक्ता र व्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने विश्वास लिइएको छ।
यसका लागि गेटवे पेमेण्ट नेपालले सहजकर्ताको रूपमा काम गर्ने भएको छ। यो सम्झौताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा गरगहनाको बिक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणालीमार्फत् सहजै गर्न सकिने भएकोले यो प्रणाली व्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुनसक्ने महासंघका अध्यक्ष शाक्यले बताए।
गेटवे पेमेण्टका सल्लाहकार श्रेष्ठका अनुसार यो प्रविधिले व्यापार व्यवसाय गर्न थप सहज हुने र यसले व्यवसायीहरूलाई आत्मनिर्भर बनाउन सघाउनेछ।
महासंघ देशभरका सुनचाँदी व्यवसायीहरूको छाता संस्था हो। यस्तै गेटवे पेमेण्ट नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।