काठमाडौं– सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानलाई केही पूर्व प्रहरी अधिकारीहरुले असर पार्न प्रयास गरेको गृह मन्त्रालयले जनाएको छ। भ्रामक कुराहरु सार्वजनिक गरी अपराधीलाई प्रभावीत पार्न खोजेको गृहको भनाई छ।
सोमबार मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीद्वारा जारी प्रेस विज्ञप्तीमा तथ्य र प्रमाणका आधारमा अनुसन्धान गरिएको र अदालतमा विचाराधीन मुद्दाको विषयमा गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भइरहेकोमा गम्भीर ध्यानाकर्षण भइरहेको उल्लेख छ। सो प्रकरणमा कसैप्रति पनि पूर्वाग्रह नराखी अनुसन्धान गरिरहेको गृहको दाबी छ।
आइतबार पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी, पूर्व डिआईजीहरु हेमन्त मल्ल ठकुरी र रमेश प्रसाद खरेलले सो प्रकरणमा निष्पक्ष अनुसन्धान हुन नसकेको निर्दाेष प्रहरीहरु फसेको बताएका थिए। सो विषयमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने उनीहरुले माग गरेका थिए।
खासगरी अनुसन्धानको क्रममा अभियुक्तसँग पैसाको बार्गेनिङ गरेको भन्ने आरोपमा एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी तथा सइ बालकृष्ण सञ्जेललाई अभियुक्त बनाएकोमा उनीहरुको विरोध थियो। पैसाको बार्गेनिङ अभियुक्त पक्राउ गर्ने अनुसन्धानकै शैली भएको उनीहरुको भनाई थियो।
सुन तस्करी प्रकरणमा गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले छानबिन गरिरहेको छ।
यस्तो छ गृहको विज्ञप्ती–
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।