काठमाडौं– शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकामा विभिन्न संरचना बगाएको छ।
गाउँपालिका र नगरपालिकामा गरी १२ घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए।
बाढीले हेलम्बुको किउल क्षेत्रमा ६ र मेलम्ची नगरको मेलम्ची बजारमा ६ घर बगेको उनले जानकारी दिए।
बाढीले सडकमार्गबाट हेलम्वुसँग जोड्ने चनौटेस्थित रातो पुल बगाएको छ भने हेलम्बु–४ ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको छ।
ग्याल्थुम बजारका ४० घर तथा सरस्वती उच्च माविसमेत बाढीको जोखिममा परेको प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। बाढीले रेडियो मेलम्चीको भवनसमेत बगाएको छ।
रातोपुल बगाएसँगै हेलम्बुसँगको सम्बन्ध टुटेको छ भने मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणसमेत प्रभावित बनेको छ।
मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो ।पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ।
त्यसैगरी, शनिबारको बाढीले तालामाराङको प्रहरी चौकीसमेत कटान गरेकाले प्रहरीहरु विस्थापित भएका छन्।
यसपटक पनि लेदो माटोसहितको बाढी आएको स्थानीयले बताएका छन्। यसअघि असार १ गतेको बाढीले भौतिक तथा मानवीय क्षति पुगेको मेलम्चीमा पुनः आएको बाढीले जनतामा त्रास भने थप्ने काम गरेको छ।
बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।बहाव एक्कासी बढेपछि साइरन बजाएर तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइएको थियो। साइरन जडान गरिएका कारण मानिसहरु भने राति नै माथिल्लो क्षेत्रतर्फ लागेका थिए।
खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सचेत गराएका छन् । गत असार १ जत्तिकै आवाजमा खोलामा बाढी आएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।