काठमाडौं- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षले मंगलबार साँझसम्म उच्चस्तरीय वार्ता टोली गठन गरेर सरकारले समस्या समाधानको पहल नथाले बुधबारदेखि काममा नजाने घोषणा गरेको छ।
प्रतिष्ठानका चिकित्सक, विद्यार्थी, नर्स, कर्मचारीहरूको संयुक्त संघर्ष समितिले शनिबार साँझ विज्ञप्ति जारी गर्दै ७२ घण्टाभित्र माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको हो।
प्रतिष्ठान सुधारका लागि विभिन्न १२ बुँदे माग राख्दै समितिले ४७ दिनदेखि आन्दोलन गर्दै आइरहेको छ। यो अवधिसम्म पनि माग पूरा नभएपछि बाध्य भएर थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नु परेको समितिले जनाएको छ।
समितिका अनुसार शनिबारदेखि कालोपट्टी बाँधेर काममा जाने, आइतबार डिन अफिसहरूमा तालाबन्दी गर्ने र ७२ घण्टाभित्र उच्चस्तरीय वार्ता टोली गठन गरेर समाधान पहल नथाले स्वास्थ्य सेवामा सहभागी नहुने कार्यक्रम घोषणा गरिएको छ।
कोरोना उपचार, आकस्मिक उपचार र पूर्वनिर्धारित परीक्षा बाहेकका सबै सेवामा स्वास्थ्यकर्मीको सहभागिता नहुने आन्दोलनकारीको घोषणा छ।
समितिले प्रधानमन्त्री कार्यालयका सचिव बैकुण्ठ अर्याल नेतृत्वको समितिको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।