काठमाडौं- गृह मन्त्रालयले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन काटिदिएकाले जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको भनी प्रकाशन भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा त्यस्तो सूचना र समाचार प्रकाशित भएको भन्दै ध्यानाकर्षण गराएको हो।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जारी गरेको विज्ञप्तिमा घटनाको वास्तविकता छानबिन भइरहेको उल्लेख छ।
‘स्थानीय प्रशासन एवं सुरक्षा निकायहरुलाई सो घटनाको वास्तविकता पत्ता लगाउन आवश्यक निर्देशन दिइसकेको र घटनास्थलमा आवश्यक जाँचबुझ गर्ने कार्य भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘ घटनास्थल सदरमुकामबाट ५ घण्टा पैदल दूरीमा रहेको हुँदा उक्त टोली फर्किए पश्चात यथार्थ जानकारी प्राप्त हुने नै छ। उक्त घटनाको अनुसन्धान तथा छानबिनको क्रम जारी रहेकोले सत्यतथ्य पुष्टी भइनसकेको अवस्थामा भ्रम सिर्जना हुनेगरी सूचना/समाचार प्रकाशन नगरिदिनुहुन सम्बन्धित सबैमा गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’
शुक्रबार सदरमुकाम खलंगा आउने क्रममा व्यास गाउँपालिका-२ मालघाटमा तुइन तर्दै गरेको बेला एसएसबीले डोरी काटिदिँदा ३५ वर्षीय धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।
महाकाली तर्ने क्रममा भारत पांगलमा रहेका एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले पुष्टि गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।